अपेक्षामध्य आकाशवाट
एक टुक्रा बादल फाटेर
म तिमीसम्म थोपा-थोपा भई
अनवरत झरिरहें
म कहिले हावासँग जुध्दै झरें
कहिले तापमा परेर झरें
कहिले बादलसँग मडारिंदै झरें
कहिले झर्दा-झर्दै मरेर झरें
साँच्चै सानु
म तिमीसम्म झर्नका लागि झर्दै झरे
लाग्थ्यो मेरो झराईमा तिमी
सामिप्यता पाउछौ
लाग्थ्यो मेरो संर्घषमा तिमी
विनय प्राप्त गर्छौ
लाग्थ्यो मेरो आँसुमा तिमी
भावविभोर हुन्छौ
लाग्थ्यो तिमीवाट म पूनः झर्दिन
तर म थोपा भएर तिमीसम्म आउँदा
तिमीले त खोइ किन हो
मलाई झन् सागर बनाएर झार्यौ
म तिमीसम्म झरें
तिमीले भूईंसम्म झार्यौ
भूईंले कहाँसम्म झार्ने हो
थाहा छैन मलाई
बस,मलाई प्राप्तिको घामभन्दा
त्यागको जुनतारा नै प्यारो लाग्छन
त्यसैले होला
आफु माटोमा मिलिरहँदा पनि लाग्छ
एकपटक तिमीलाई
उभिने सहारा दिएर मात्र मिलुँ/
No comments:
Post a Comment