Sunday, February 13, 2011

महाराज

महाराज ,
इतिहासको पाना पल्टाएर हेर
मेरो पुर्खाको पदार्पण कसरी भयो देशमा ?
सायद
बिर्सेउ होला तिमीले
वान्ग्दिपोदंगको झर्लंगी
घना जंगल को फडानी
सिस्ने डाँडा मुनिको बस्ति
रातेखोला छेउको इतिहासे बजु

सायद
बिर्सेउ होला तिमीले
हिजो छोरालाइ राज्यविशेक दिदा
टेकेको भुमि चम्लिमिथंग मैदान /
हो महाराज
तेही मैदान हो मेरा हजुरबुबाले
बर्षौ कोदाली र फरुवा प्रयोग गरि सम्याएको
मेरी हजुरमाले
बर्षौ हातले दिवाल उभ्याएको
मेरा बाबाले
जन्मदै अंगरक्षकको अभिभारा निभाएको
मेरी आमाले
बालिका हुदै छिमेकीको प्रतिकार गरेकी /
तर महाराज
तिमीले हिरा निलेर ढुंगो ओकल्ने बानीमा
मेरो भूमिको सुनौलो हारपनि
दाइजो दे ' छौ /
महाराज
छालाको धोक्रोमा मेरा काका हालेर
सुनकोशमा जिउदै डुबाएको पनि भलेउ क्यार
मायाहरुलाई बलात्कारको सिकार बनाएको
परोजोंग भित्र धर्मराज
चमर्ची खोलामा दिलबहादुर
माऊखोलामा सुकबहादुर
च्यांगबारीमा माने मरेको पनि भुलेउ क्यार
सच्चि तिमीले
मेरो सन्तानको हत्या गर्दा गर्दै
जनता बिनाको राजा भन्ने पनि भुलेउ क्यार /
महाराज
तिम्रो विवाहमा मैले फाडो र खोले चाटदै
अन्न बेचेर विवाह सयोग गरेको पनि भुलेछौ
र आइले भन्दै छौ रे
म आतंककारी ,म देशद्रोही
म राजद्रोही म बिदेसी
हे संसार सुनिदेउ
चारसय वर्ष लामो इतिहास बोकेको म
कसरि देशद्रोही कसरि बिदेसी
हे संसार बुझिदेउ
सय वर्ष अघि मात्र देश छिरेको उ
कसरि देशभक्ति र स्वदेशी हुनसक्छ ?

No comments:

Post a Comment